म्याग्दी जिल्ला परिचय धौलागिरी अञ्चलको चार जिल्लाहरु मध्य म्याग्दी जिल्ला पनि एक हो । पुर्वमा पर्वत र कास्की पश्चिममा बाग्लुङ,रोल्पा र रुकुम उत्तरमा मुस्ताङ ,डोल्पा तथा दक्षिणमा बाग्लुङ तथा गुल्मी जिल्लाहरु रहेको यस जिल्ला भौगोलिक बनावट अनुसार पहाडी जिल्लामा गनिन्छ । बिक्रम सम्बत २०१८ सालको सीमा बिभाजन अनुसार गण्डकी पारी रहेका इलाकाहरु क्रमस:मुस्ताङर पर्बत जिल्लाहरुमा रहेकोले जम्मा २१ गाबिसमा सिमित म्याग्दी जिल्लामा हाल ४१ गाबिसहरु रहेका छन् । यस जिल्ला ८३º०८" देखि ८३०५३" सम्म पूर्वि देशान्तर, २८०२०" देखि २८०४७"सम्म उत्तरी अक्षांशमा रहेको छ । न्यूनतम उचाई समुद्री सतह ७९२ मीटर देखि (रत्नेचौर गाविस) अधिकतम समुद्री सतह ८१६७ मीटरसम्म (धौलागिरि हिमाल) रहेको यस जिल्लाको क्षेत्रफल २,२९७ बर्ग किलो मिटर -२,२९,७०६ हेक्टर) छ । जस्मा भू-स्वरुप : बेंसी क्षेत्र ८% उच्च पहाडी क्षेत्र ५६% र हिमाली क्षेत्र ३६% रहेका छन् । बेनी बजार म्याग्दी जिल्लाको सदरमुकाम हो । पश्चिम तिरबाट बग्ने म्याग्दी नदी र उत्तरबाट बग्ने काली नदीको सङ्गम स्थलमा अबस्थित जिल्लाको सदरमुकाममा यातायात, बिजुली र संचार लगाएतका भौतिक सुबिधाहरुले सम्पन्न भै पुर्णतया:आधुनिकता तिरको अग्रसरतामा रहेको छ। दैनिक उपभोग्य सामानहरुको अलावा बिलासिताका हरेक सामग्रीहरुको अपुग छैन सदरमुकाममा । त्यसो त सदरमुकाम बेनी बजारबाट बेनी-जोमसोम तथा बेनी - ढोरपाटन जोड्ने सडक खण्ड निर्माणाधिन अवस्थामा रहेकोले म्याग्दीका गाऊँ घरका घरदैलोबाटै म्याग्दी बासीहरुले यातायातको सुबिधालाई निकट भिबिष्यमै सर्बसुलभ उपभोग गर्न पाउने छन । त्यस्तै नारच्याङ साना जलबिधुत् आयोजनाको सफल संञ्चालन र शौर्यशक्ती समेटको सहि उपयोगबाट म्याग्दीका प्राय:सबै गाउँहरुमा बिजुली बत्तीको सुबिधा राम्रै छ। यदि गाउँका अधिकतम जनताहरुले यातायात र बिजुलीको सर्बसुलभ उपभोग गर्न पाएमा सदरमुकामकै रफ्तारमा म्याग्दीका हरेक गाबिसहरुमा, होईन गाऊँहरु समेत बिकासमय तथा आधुनिकता भित्रिन सक्ने संभावनाहरु प्रबल छन् । म्याग्दी जिल्लाको जनसंख्या १,१४,४४७ रहेको छ। कुल जनसंख्याको ६० प्रतिशत मगर जातिहरुको बाहुल्यता रहेको छ। त्यस बाहेक बाहुन, क्षेत्री,थकाली,ठकुरी, नेवार, गुरुङ,छन्त्याल, गिरी,सार्की, कामी, दमाई,र अन्य जातिहरु बसोबास गरेको पाइन्छ । म्याग्दीका बहुसंख्यक मगर जातिहरुको थरहरुमा पुन, गर्वुजा, पुर्जा,पाईजा, सिन्थानी, चोचाङ्गी, सिंजाली, तिलिजा, जुग्जाली, रोका, बुढाथोकी, थजाली, बुदुजा, राना, घर्ती, आले, शेरपुन्जा, राम्जाली, थापा, श्रीष, प्राईपुन, फगामी, खजाङनी, धिमेल आदि रहेको पाइन्छ । बहुसंख्यक पूर्वियाको अतिरिक्त नगण्य मात्रामा कुमाईहरु पनि रहेको बाहुन जातिका थरहरुमा पौडेल, सुवेदी, आचार्य, अधिकारि,ढुंगाना, रिजाल, पराजुली, सापकोटा, गौतम, रेग्मी आदि छन् । क्षेत्रीका थरहरुमा कार्की, घिमिरे, भण्डारी, बानियाँ,खत्री, खड्का ,थापा, चोखाल, बोगटी, महत, रावल, घर्ती, बरुवाल रहेका छन । ठकुरीमा मल्ल, सेन, वम,सिंह, शाही र हमाल प्मुख रुपमा रहेका छन् भने थकालीहरुमा तुलाचन ,गौचन सेरचन,र भट्टचन र गुरुङमा लामा, लामिछाने घले, र घोताने रहेका छन् । कुल जनसंख्या मध्य ५३,१७८ जना पुरुष र ६१,२६९ महिला रहेका म्याग्दी जिल्लामा जन्मदर ४.२१ प्रतिशत र मृत्युदर १.५९ प्रतिशत रहेकोले जनसंख्या बृद्धि दर १.३७ प्रतिशत छ । यस जिल्लाको औषत परिवार सदस्य संख्या ४.६८ जना ,जनघनत्व प्रति वर्ग कि.मी.५० जना, घरधुरी २४,४३५ र बस्ती संख्या ५७९ रहेको छ। ३२,३७९ जना महिला र २६,४२४ पुरुष गरि कुल जम्मा ५८,८०३ जना मात्र आर्थिक रुपमा सक्रिय रहेका छन् । यस जिल्लाका मानिसहरु कृषि, पशुपालन, ज्यालादारी, उद्योग, व्यवसाय, होटेल, मेकानिक्स नोकरी तथा वैदेशिक रोजगार,आदि पेशाहरु गर्दछन। भौगोलिक बनावट अनुसार यस जिल्लामा खेतीयोग्य जमिन भन्दा पहाड, डाँडाकाँडा तथा भीरपखेराहरु बढी भएकोले वैदेशिक रोजगारनै आम्दानीको मुख्य श्रोत हो भन्दा फरक नपर्ला। बिशेष गरि यहाँका युवाहरु व्रितिश आर्मी र भारतीय सेनामा जाने चलन बढी छ। त्यसको अलावा
रोजगारको लागि खाडी मुलुक लगाएत बिश्वका बिभिन्न मुलुकहरुमा जाने गरेको पाइन्छ । केहि बर्ष अगाडी म मन्त्रालयले देखाएको वैदेशिक रोजगार सम्बन्धि तथ्यांक अनुसार म्याग्दी जिल्लानै पहिलो रहेको थियो । कुल जनसंख्याको ५४.७ प्रतिशत साक्षारता दर रहेको म्याग्दी जिल्लामा पुरुष साक्षारता ६७.८ र महिला साक्षारता ४५.६ रहेका छन। जिल्लामा सरकारी र निजी बिधालय गरि प्रा.वि. १६३, निमावि ३१ मावि
३६ उमावि ४ र सदरमुकाम बेनी बजारमा एक क्याम्पस रहेको छ। साथै अनुमति प्राप्त क्रमश:२०-२१ र १७छन् भने समुदायमा व्यवस्थापन हस्तान्तरित क्रमश:३८-१७ र १२ बिधालयहरु रहेका छन् । यस जिल्लामा जातीय विविधता अनुरुप भाषिक विविधता पनि रहेको पाइन्छ । बहुसंख्यक मानिसहरु नेपाली भाषा नै बोल्दछन् र लेखाइमा सवै जातिहरु नेपालको राष्ट्रभाषा देवनागरी लिपिमा नेपाली भाषा नै प्रयोग गर्दछन् । साथै यहाँ अन्य विभिन्न भाषाहरु पनि बोलिन्छ । जस्तो मगर समूहमा मगर भाषा, नेवार समूहमा नेवारी भाषा, छन्त्याल समूहमा छन्त्याल भाषा, थकाली समूहमा थकाली भाषा र केही मात्रामा गुरुङ भाषा पनि बोल्ने गरेको पाइन्छ। हिन्दूहरुले जन्मदाँ छैठी गर्ने, न्वारान गर्ने, छोराछोरीको हाँगाको पुस्ता गनी नाता छुट्याई विवाह गर्ने र मृत्यु पछि सकभर कालीगण्डकीको किनारमा र टाढा पर्नेहरुले आफ्नो नजिकमा बग्ने नदीको किनारमा मृतकलाई दाहसंस्कार गर्ने गर्दछन् । दाहसंस्कार गर्दा जलाउने वा गाड्ने चलन छ । मृत्यु पश्चात नेवार,क्षेत्री, ब्राम्हणले एकै किसिमको प्रक्रिया जस्तै पिण्डदान, द्रव्यदान, गौदान आदि गर्ने चलन छ भने अन्य मगर, थकाली, गुरुङ जातिमा आफ्नै परम्परा अनुसार काजक्रिया गर्ने चलन छ । विवाहमा बाहुन, क्षेत्री तथा नेवारहरुकोमा मागी विवाह गर्ने चलन छ भने मगर समुदायमा मामाकी छोरी विवाह गर्ने र थकाली समुदायमा मामा तथा फुपूकी छोरी विवाह गर्ने चलन रहेको छ । हाल आएर प्रेम विवाह गर्नेहरुको संख्यामा पनि वृद्धि हुन थालेको छ । यस जिल्लाका मानिसहरु भू-बनोट, हावापानी, प्राकृतिक स्वभाव र जातीय विविधता अनुरुप भेषभुषा लगाउने गरेको पाइन्छ । गुरुङ मगरका महिलाले चोलो लगाउने, बर्को(छेकी) ओढ्ने,सारी अथवा लुङ्गी लगाई पेटी अथवा पटुका बाँध्ने र पछ्यौरा ओढ्दा टाउकोमा मजेत्रो पार्ने गर्दछन् । पूराना महिलाहरु त अरु गरगहनाको अलावा ओठसम्म आउने गरी झुम्के बुलाकी पनि लगाउने गर्दछन् । बाहुन, क्षेत्री र वैश्यका महिलाहरु साधारण चोलो ब्लाउज, सारी, पछ्यौरा, पटुका, पेटिकोट, लुङ्गी लगाउने र बाँध्ने चलन भएपनि आधुनिक पहिरनका सामानले सवै जातिका महिलाहरुलाई प्रभाव पारेको पाइन्छ । पुरुषहरुमा लेकाली भेगमा भोटो, कछाड लगाउने चलन छ भने तल्लो भेग र सदरमुकाम आसपासमा दौरा, सुरुवाल, कोट, पाइन्ट, कमिज, जाँगे,टोपी र ब्राम्हणहरु धोती लगाउँछन् । खानपिनमा लेकाली भेगमा गहुँ, मकै, कोदो, जौ, उवाँ, फापर साथै न्यून मात्रामा भात खाने चलन छ । बेसीतिर भात, रोटी, ढिंडो, मकैको आटो, दाल, तरकारी, सागसब्जी आदि खाने गर्दछन् । म्याग्दी जिल्ला पर्यटकीय क्षेत्रमा पनि निक्कै अगाडी छ । शिख गाबिस अन्तर्गत पर्ने घोरेपानी जिल्लाको हिसाबले मात्र नभई नेपाल अधिराज्यकै पर्यटकीय केन्द्रबिन्दुको रुपमा रहि आएको छ । साँच्चै भन्ने हो भने Tourist Season मा जता हेरेपनि गोरा जातीहरुको भिंडभाडले घोरेपानी पुग्ने जो कसैलाई बिदेशको कुनै भाग होकी भन्ने भान पर्न सक्दछ । घोरेपानीबाट करिब ४५ मिनेटको उकालो हिंडाई पछि पुन हिल मेमोरियल भ्यू टावर Poon Hill Memoreal View Tower पुग्न सकिन्छ । जहाँ बिश्वमा नै सबैभन्दा बढी प्रजाती का लालीगुँरास र चाँडी जस्तो टलक्क टल्कने सुन्दर हिमालहरुको द्श्यहरुले मन नै लोभ्याँउछ । त्यस बाहेक सिंगा गाविसमा पर्ने तातोपानी कुण्ड, भू-तातोपानी गाविसको तातोपानी कुण्ड, दाना गाविसको अन्ध गल्छि दाना गाबिसकै रुप्से छहरा,गुर्जा गाबिसको ढोरपाटन आरक्ष र मुदी गाबिसमा पर्ने धौलागिरि हिमाल (८१६७ मि.) प्रमुख पर्यटकीय क्षेत्रमा पर्दछन । यस जिल्लामा प्राकृतिक तातोपानीको पनि छुट्टै महत्त्व रहि आएको छ । जस्मा सिंगा गाविसमा पर्ने तातोपानी कुण्ड, भूरुङ तातोपानी गाविसको तातोपानी कुण्ड प्रख्यात छन् । सदरमुकाम बेनी बजार देखि पश्चिम सिंगा गाविसमा पर्ने तातोपानी कुण्डमा बर्षेनी हजारौ ब्यक्तीहरु हप्ता दशदिन देखि महिनौसम्म बसेर यस कुण्डमा दुब्ने गर्दछन । यसो गर्नाले पेटको रोगहरु,घँडा दुख्ने, मर्किएको,जिऊ दुख्ने आदि रोगहरु निको हुन्छ भन्ने जनबिश्वास रहि आएको छ । जसको लागि टाढाटाढाका जिल्लाहरुबाट समेत हप्ता दशदिन देखि महिनौसम्मको लागि आएका हुन्छन्। साथै भूरुङ तातोपानी गाविसको तातोपानी कुण्डमा पोखरा जोमसोम पैदल पर्यटकहरु र लमजुङ बेशी शहरबाट थ्रोङपास गर्ने पर्यटकहरु धेरै दिनको हिंदाईको थकाई मेटाउन जसरी पनि यहि तातोपानी भन्ने ठाऊँमा वास बसेर Natural Hot Spring मा नुहाई आनन्द लिने गर्दछन । म्याग्दी जिल्लामा म्याग्दी नदी र नदी काली दुई ठूला नदीहरुको अलावा सहायक नदीहरु प्रशस्त छन् । जस्मा बोक्सीखोला, म्रिस्त्रीखोला, रघुगंगा,कागखोला,वेगखोला, घारखोला आदि काली नदीका सहायकहरु हुन् भने छिस्बाङको निस्कोट खोला, गुर्जाखोला, मराङखोला, दरखोला, रितुङखोला, दाङखोला अर्जेखोला आदि म्याग्दी नदीको सहायकहरु पर्दछन् । यस जिल्लामा सल्लो, साल, ओखर, सिर्मु, उत्तिस,चिलाउने, गुराँस, काफल, मौवा, टुनी, तिंजु, च्यूरी, कटुस, सिमल, फ्लाट, खर्सु, सिनकाउली, वरुवा, धाइरो, बाँस, निगालो आदि वनस्पतिहरु पाईन्छन् भने तामा, शिलाजित, खरीढुंगा र कालीगण्डकीको किनारमा सुन जस्ता खनिज पदार्थ पाईन्छन। यस जिल्लामा पाईने जंगली पशुहरुमा कस्तूरी, थार, मृग,घोरल, झारल, नाउर, चितुवा, बाँदर, बाघ, भालु, दुम्सी, ब्वाँसो आदि छन् भने गाई, भैसी, भेडा, बाख्रा, सुँगुर, बंगुर,खच्चर, घोडा, गधा, चौरी आदिपशुहरु घरमा पालिन्छ। जंगलमा पाईने पंक्षीहरुमा च्याखुरा, डाँफे, कालिज, तित्रा, ढुकुर, लुइंचे, मोनाल, पेजरा आदि रहेका छन् । र घरमा पालिने पंक्षीमा कुखुरा, हाँस, परेवा आदि पर्दछन। त्यस्तै, म्याग्दी जिल्लाको धार्मिक तथा सांस्कृतिक स्थलहरु मध्य घतान गाविसको गलेश्वरमा रहेको शिब मन्दिरलाई अत्यन्त महत्त्वपूर्ण मानिन्छ। यस मन्दिरमा मंसिर महिनाको वाला चतुर्दशीको दिन भक्तजनहरुको धुमधाम् मेला लाग्ने गर्दछ । साथै पुलाचौर गाविसमा पौलत्स्य आश्रम, अर्थुङ्गे गाविसमा महारानी थान, अर्थुङ्गे गाविसकै शिवालय, कुइनेमंगले गाविसमा रिखार, विम गाविसमा मालिका मन्दिर हिस्तानमण्डली गाविसमा गिद्धेश्वरी मन्दिर, ताकम गाबिसमा ताकमकोट तथा भगवती गाविसमा भगवती मन्दिर प्रख्यात रहेका छन्।
|